• Saturday 25th of July 2026

पहिलोपटक सतुवाको व्यावसायिक खेती शुरु


  • आशाका किरण

बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ ।

उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको छ ।

महत्वपूर्ण जडीबुटीको रुपमा चिनिने सतुवाबाट प्रशस्त आम्दानी गर्ने उद्देश्यले यहाँका झण्डै ५० भन्दा बढी कृषकले व्यावसायिक खेती शुरु गरेका हुन् । बस्तीभन्दा माथि रहेको हम्पालको जङ्गलबाट बिरुवा खोजेर तथा केहीले अन्यत्रबाट बिऊ किनेर खेती शुरु गरेको जलजला गाउँपालिका—९ का अध्यक्ष गौबहादुर पुनले बताउनुभयो ।

त्यसैगरी जलजलाका एक दर्जनभन्दा बढी कृषकले यसको व्यावसायिक खेती गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा झण्डै १५ रोपनी क्षेत्रफलमा यसको खेती शुरु गरिएको छ । अहिले अधिकांश कृषकले विरुवा तयार गरेको बताएका छन् ।

बिक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेको सतुवाका कृषक प्रेम पुर्जाले बताउनुभयो । उहाँका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । पहिलोपटक खेती शुरु गरेकाले यति नै उत्पादन हुन्छ भन्न नसकिने कृषकहरुको भनाइ छ । यस वर्षको उत्पादनको परिमाण हेरेर आगामी वर्षदेखि खेती विस्तार गर्ने योजनामा कृषकहरु रहेका छन् ।

डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा रु चार लाख अनुदान वितरण गरिएको वन अधिकृत मेघराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो अनुदान हरेक वर्ष विस्तार गर्दै जाने योजना रहेको छ ।

उत्तरी पर्वतका शालिजा, लेखफाँट, वाँसखर्क, बनौ, मोदीगाउँपालिकाको भुकताङ्ले, क्याङ, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर, विहादी गाउँपालिकाको उराम, महाशिलाको लुङ्खुदेउराली, फलामखानी, भोक्सिङ, बालाकोट, गोल्र्याङधामलगायतका क्षेत्रमा यसको सफल खेती गर्न सकिने डिभिजन वन कार्यालयले जनाएको छ । अहिले बजारमा सतुवा प्रतिकिलो हरियोलाई रु छ हजारदेखि सुकेको १५ हजारसम्ममा बिक्री गर्न सकिने कृषक टकमाया फगामीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij