• Wednesday 9th of September 2026

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत् १९४.०७, वित्त ४५.०५, उत्पादन २७.८४ र लगानी ०.३४ बिन्दुले बढेको छ ।

यस्तै, व्यापार ६०, होटल तथा पर्यटन ७.७७, निर्जीवन बीमा ८२.९८, अन्य २१.०१, लघुवित्त १२६.३३, जीवन बीमा २.७५ र सामूहिक लगानी कोष ०.१२ बिन्दुले घटेको छ । अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । सोही आधारमा आज अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अप पावर ५.३८, लक्ष्मी इक्विटी फण्ड ४.७५, पोखरा फाइनान्स ४.५१, विजय लघुवित्त ४.३५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले गुमाए ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५६ करोड ७२ लाख ३३ हजार ८०२, सानिमा माई हाइड्रोपावर रु ५० करोड ३४ लाख ७१ हजार ३०५, अरुण काबेली पावर रु ४१ करोड ५५ लाख ३५ हजार ६९८ र छिमेक लघुवित्त रु ४० करोड ८९ लाख तीन हजार ९८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij