• Thursday 10th of September 2026

नेप्सेको ओरालो यात्रा कायमै


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सोमबार झण्डै १०० अङ्कले खस्किएको बजार आज भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५.०६ मा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ अङ्कले घटेर ५२४.९४ मा ओर्लेको छ ।

कूल २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर रु पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा उपसमूह ७२.१६ अङ्कले उकालो लागेको हो । बाँकी रहेका १२ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६१, व्यापार १.४६, होटेल तथा पर्यटन ४.२५, विकास बैंक १५.६, जलविद्युत् १०.५७, वित्त ५.३९, निर्जीवन बीमा १७.२९, उत्पादन १३.५९, अन्य ९.८९, लघुवित्त १५.२४, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३७ अङ्कले ओरालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७८ अर्ब २१ करोड २८ लाख १३ हजार २३१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज एसियन लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ९४ लाख ५१ हजार ४१७ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु २२ करोड ८२ लाख ५५ हजार ६१७, एनआइसिए एसिया बैंक रु १९ करोड ६८ लाख ७४ हजार १८४, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड २२ लाख ३४ हजार ९१५ र नेसनल हाइड्रोपावर रु १२ करोड ७६ लाख ९१ हजार ५५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्धभूमि नेपाल हाइड्रोपार ९.९८, पोखरा फाइनान्स ८.२५, कालिका लघुवित्त ४.५२, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । त्यस्तै कृषि विकास बैंकको ऋणपत्र ८.३४, गुर्खाज फाइनान्स ४.५८, समिट लघुवित्त ३.१८, समता घरेलु लघुवित्त ३.०३ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij