• Thursday 10th of September 2026

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर


  • आशाका किरण

ग्रीन भेन्चर्स लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्रीका लागि खुल्ला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका – १ र २ तथा उमाकुण्ड गाउँपालिका ७ का आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार ओखलढुङ्गा र रामेछाप जिल्लाका आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले आगामी फागुन २ देखि १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे चैत १ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्‘आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लास्थित खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरिएको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij