• Saturday 25th of July 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २२.०६ अङ्कले ओरालो लागेर दुई हजार ८१३.५२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५१ अङ्कले ओरालो लागेर ५२८.९९ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर रु तीन अर्ब ४७ करोड ११ लाख नौ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७६ अर्ब ५५ करोड आठ लाख ७० हजारको आसपास रोकिएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ १२.४२, व्यापार ३९.२५, होटल तथा पर्यटन २.४४, विकास बैंक ४६.२७, जलविद्युत् ३२.७२, वित्त २४.८५, निर्जीवन बीमा १९८.७५, उत्पादन १५.०३, अन्य ३.६७, लघुवित्त ५०.०४, जीवन बीमा १५१.०८, सामूहिक लगानी कोष ०.१२ र लगानी ०.९६ अङ्कले ओरालो लागेका छन् ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ६१ लख ६९ हजार ७६५ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १४ करोड ५९ लाख ५७ हजार २१७, नेशनल हाइड्रो पावर रु १४ करोड ४७ लाख १३ हजार ३९८, नेपाल पूर्वाधार बैंक रु १४ करोड १३ लाख ४० हजार ४५२ र एचआइडिसिएल रु ११ करोड दुई लाख ६३ हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लिबर्टी इनर्जी ३.०८, आरम्भ चौतारी लघुवित्त २.८०, जनउत्थान सामुदायिक लघुवित्त १.९७, लाइफ इन्स्योरेन्स कम्पनी १.८७ र मैलङ खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.६४, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.७५, नेपाल हाइड्रो डेभलपर्स ३.३५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.२७ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij