• Thursday 10th of September 2026

ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपिओ खुला


  • आशाका किरण

ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

सार्वजनिक आह्वान पत्रानुसार ओखलढुङ्गा र रामेछापका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयले आजदेखि छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल ओखलढुङ्गाको खिजिदेम्बाको वडा नं १ र ३ तथा रामेछापको उमाकुण्डको वडा नं ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनूमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ ।

स्थानियले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनिको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij