• Wednesday 9th of September 2026

यूक्रेनमा ७७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित : राष्ट्रसंघ


  • आशाका किरण

यूक्रेनमा रूसको युद्धका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । उनीहरु आफ्नो घर छाडेर भागेपनि देशभित्रै बसेको राष्ट्रसंघले बिहीबार जनाएको छ

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासन संगठनले जारी गरेको तथ्याङ्क आन्तरिक विस्थापित व्यक्तिहरू (आईडीपी) मध्ये अप्रिल ५ मा दिएको ७१ लाख रहेको अनुमानित तथ्याङ्कभन्दा बढेको हो ।

रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार जानकारी गराएको छ । युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।”

उहाँले भन्नुभयो, “मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।”

डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाले युद्धका कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने बताइएको छैन ।

यसैगरी, संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनएचसीआरले रूसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ ।

यूएनएचसीआरका उपप्रमुख केली टि क्लेमेन्ट्सले भन्नुभयो, “यस द्वन्द्वको आठ हप्तामा हामीले ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौँ ।”

यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा द्रूत गतिमा बढ्दै गइरहेको शरणार्थी सङ्कट हो । युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij