• Thursday 10th of September 2026

४४ अङ्कले बढ्यो नेप्से


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६७ अङ्कले उकालो लागि ४४७.१४ मा पुगेको छ ।

नेप्सेमा भारी वृद्धि देखिए पनि कारोबार रकम भने उल्लेखरुपमा वृद्धि भएन । कूल २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर रु एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ मा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३२ अर्ब ९० अर्ब ५७ करोड ९८ लाख ७० हजार बराबर रहेको छ ।

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २२.५५, व्यापार १४.४१, होटल तथा पर्यटन ३६.८६, विकास बैंक १०३.०६, जलविद्युत् ९६, वित्त ५४.०९, निर्जीवन बीमा १२४.०५, उत्पादन ६२.९७, अन्य ३५.११, लघुवित्त ८६.५, जीवन बीमा २३६.८१, सामूहिक लगानी कोष ०.०५ र लगानी १.७ अङ्कले बढेका छन् ।

कारोबारका आधारमा न्यादी ग्रुप अफ पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९८ लाख तीन हजारको शेयर कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावरको रु चार करोड २५ लाख २३ हजार ९१७, नेपाल दूरसञ्चार कम्पनीको रु तीन करोड ८२ लाख ८९ हजार ४३५, बरुण हाइड्रोपावरको रु तीन करोड ७४ लाख २६ हजार र नविल बैंकको रु तीन करोड ६८ लाख ८७ हजार ४७० बराबरको कारोबार रही शीर्ष पाँचभित्र रहे ।

नेप्सेमा उच्च वृद्धि हुँदा मङ्गलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा बरुण हाइड्रोपावर, न्यादी ग्रुप अफ पावर र जालपा सामुदायिक लघुवित्त छन् ।

यस्तै युनिभर्सल पावर कम्पनी ९.९७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाउँदा उता एनआइविएल समृद्धि फण्ड दोस्रो ४.८२, उन्नति सहकार्य लघुवित्त २.५२, नविल डिवेञ्चर १.९६, कृषि विकास बैंकको डिबेञ्जर १.९५ र गुराँस लघुवित्तका लगानीकर्ताले १.६१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij