• Friday 24th of July 2026

हरित हाइड्रोजन उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर


  • आशाका किरण

देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सबरम्यानले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् । नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमूना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताउनुभयो । “देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ”, उहाँले भन्नुभयो, “यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युत्बाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।” मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्था इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पु¥याउन आग्रह गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij