• Tuesday 27th of October 2026

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो


  • आशाका किरण
International banknotes from world major countries using as Forex or financial economy background, US dollar, UK pound, Euro, Japanese yen, Indian rupee, Chinese yuan, Thai Baht.

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८÷८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ ।

कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७० प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षण २०७७÷७८ मा उल्लेख छ ।

सन् २०२० मा कूल पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजारमा सीमित रहन पुग्यो । उक्त वर्ष पनि कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । सन् २०१९ मा विदेशी पर्यटक आगमन २.१ प्रतिशतले बढेकामा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको थियो ।

कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किदै गरेको छ । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमन दर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो ।

सन् २०२१ मा एक लाख ५० हजार ६९२ र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशतले बिदा, मनोरञ्जन र यात्रा, १०.३ प्रतिशत पर्वतारोहण÷साहसिक यात्रा÷पदयात्रा, ७.४ प्रतिशतले तीर्थयात्रा र १५.५ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् । कूल पर्यटक आगमन सङ्ख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने ५ मुलुकमा क्रमशः भारत ४२.८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५.१३, बेलायत ५.७४, चीन ४.१० र बङ्गलादेश ३.३४ प्रतिशत छन् ।

नेपालको भ्रमण गर्नेमा भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा बढी रहेको छ । झण्डै दुई वर्ष विदेशी पर्यटक आगमन खुम्चिँदा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र शिथिल बन्दा समग्र देशको अर्थतन्त्र र यसमा आवद्ध व्यवसायी र मजदूर मर्कामा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij