• Wednesday 9th of September 2026

बोटसँगै मकै बिक्री हुँदा किसान उत्साही


  • आशाका किरण

ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् ।

मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै बिक्री गर्नुभएको छ । उहाँले लगाएको एक बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरुले खरिद गरेका थिए । “मकै भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो,” उहाँले भन्नुभयो, “बिना झन्झट बोटमै बिक्री भएपछि बिना खर्च आम्दानी पनि बढ्यो ।”

किसान पोखरेलले खेतबाटै प्रतिकेजी चार रुपैयाँ पचास पैसाको दरले बोटसँगैको मकै बिक्री गरेको बताउनुभयो । मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको बिक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ । मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरिद गर्र्दै आएको छ । एनएमसीले मेचीनगर १४ स्थित दुहागढीमा प्राङ्गारिक नमूना तरकारी खेतीसँगै गाईफाम समेत सञ्चालन गर्दै आएको छ ।

संस्थालाई माडामा लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरिद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो । उहाँले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरिद गरिएको जानकारी दिनुभयो । चैत महिना भित्र खरिद गरिएको मकै प्रतिकेजी रु पाँच र बैशाख लागेपछि प्रतिकेजी चार रुपैयाँ पचास पैसाका दरले किसानको मकै खरिद गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई समेत बिक्री गरिने जनाउनुभयो । उहाँका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, विर्तामोडलगायत ठूला साना गाई फार्महरुले करिब एक करोड केजी मकैको साइलेज बनाएको उहाँको भनाइ थियो ।

दुई वर्षअघि एनएमसीले साइलेज बनाउन सुरु गरेसँगै जिल्लामा अन्य फार्महरुले समेत अघि बढेका छन् । तयार भएको साइलेज बिक्रीका लागि एमएमसीले बुकिङसमेत खुला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी रु १० का दरले बिक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij