• Thursday 10th of September 2026

फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य


  • आशाका किरण

पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१ पैसा बढेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।

खरिद मूल्य बढेसँगै आगामी १५ दिनमा करिब रु चार अर्ब ७१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा सामान्य नाफा रहेको निगमले जनाएको छ ।

नयाँ खरिदमूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन (आन्तरिक)को १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर दुई हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको छ ।

निगमलाई हालको बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा घाटा तथा मट्टितेलमा प्रतिलिटर १७ रुपैया एक पैसा र हवाई इन्धन (बाह्य)मा प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफा छ । हाल पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १७८, डिजेल÷मट्टितेलको रु १६५, हवाई इन्धन (आन्तरिक)को रु १६६, हवाई इन्धन (बाह्य) प्रतिलिटर १.५४ अमेरिकी डलर र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ८०० छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रुपमा पेट्रोलमा रु ९५ करोड, डिजेलमा रु दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा रु ६६ लाख र एलपी ग्यासमा रु एक अर्ब १४ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij