• Wednesday 9th of September 2026

हावाहुरीले मकैबाली नष्ट गर्दा खोटाङमा चार करोडको क्षति


  • आशाका किरण

यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कानुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो ।

लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैका बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । “हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “मकैबालीमा भएको क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।”

रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएको मकैबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात वडा रहेको उक्त दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तीन हजार ५०० रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबालीमा क्षति भएको हो ।

यस्तै दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा दुई हजार ५००, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३००, हलेसी तुवाचुङ नगरपालिकामा २५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनमा लगाइएको मकैबालीमा क्षति भएको जनाइएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहमा हावाहुरीको असर सामान्य मात्र रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।

जिल्लाको प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसान चिन्तित भएका छन् । मकैबालीमा सुरुको चरणमा फौजी कीराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।

सुक्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष खडेरी र यस वर्ष हावाहुरीले मकैबाली नष्ट गरेको स्थानीयवासी एवं नेकपा (माओवादी केन्द्र)का युवानेता तामन राईले जानकारी दिनुभयो । मकैबाहेक अन्य बाली कम उत्पादन हुने हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दालाई गत वर्ष नगरपालिकाले रु एक करोड ४० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरेको थियो ।

हावाहुरीले जिल्लामा मकैबालीसँगै विभिन्न प्रजातिका फलफूलमा समेत ठूलो क्षति गरेको किसानले बताएका छन् । फलफूलमा हावाहुरीबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३९ हजार ८४५ हेक्टर जमिनमा किसानले मकैखेती गर्दै आएका छन् । जिल्लाको कूल ७५ हजार ६५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७ हजार ४१७ हेक्टर जमिनमा विभिन्न बालीको खेती गर्ने गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।

समयमा वर्षा भएकाले विगतको तुलनामा यस वर्ष मकैबाली उत्पादनमा वृद्धि हुने किसानले अनुमान गरेका भए पनि विभिन्न प्रकोपका कारण मकैबाली भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij