• Saturday 25th of July 2026

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’


  • आशाका किरण

कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताउनुभएको हो ।

जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताउनुभयो ।

कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij