• Tuesday 8th of September 2026

उत्तर कोरियामा नोभेम्बरबाट कोरोनाविरुद्ध खोप अभियान सुरु हुने


  • आशाका किरण

उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले उक्त घोषणा भएको जनाएको हो ।

विश्वको मानचित्रबाट नै पृथक रहेको भान हुने उत्तर कोरियाले महामारी सुरु भएदेखि पहिलो पटक आधिकारिक रुपमा खोपको लागि आफ्नो योजना घोषणा गरेको छ ।‘जिम्मेवार खोप प्रशासनको साथसाथै, हामीले नोभेम्बरदेखि सबै नागरिकहरूले आफ्नो स्वास्थ्यको रक्षा गर्न मास्क लगाउन सिफारिस गर्नुपर्छ’ नेता किम जोङ उनले भन्नु भएको प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसिएनए) ले जनाएको छ ।

केसिएनएले शुक्रबारको जारी गरेको प्रतिवेदनमा खोपहरु कहाँबाट आएको हो भन्ने विस्तृत विवरण नदिएको उल्लेख गरिएको छ । साइड इफेक्टको चिन्ताका कारण विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स् योजनाद्वारा व्यवस्था गरिएको एस्ट्राजेनिका खोप योजनाबद्ध ढुवानीलाई गत वर्ष सरकारले अस्वीकार गरेको थियो ।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम गर्ने यस राष्ट्रको राजधानी प्योङयाङमा करिब चार महिना अगाडी नै ओमिक्रोन भेरियन्टको प्रकोप पुष्टि भएको थियो । यस प्रकोपको क्रममा नेता किमसमेत बिरामी पर्नु भएको थियो । गत महिना भाइरसमाथि विजयको घोषणा गरेको र आधिकारिक रुपमा दर्ता भएका केसहरु शून्यमा झरेको बताइएको थियो ।

उत्तर कोरियाले आफ्ना दुई करोड २० लाख जनसङ्ख्या मध्ये कसैलाई पनि खोप नलगाएको विश्वास गरिएको छ । सोलको एनके न्यूजले प्योङयाङले आफ्नो प्रमुख सहयोगी चीनबाट केही खोप प्राप्त गरेको हुन सक्ने जनाएको छ । उत्तर कोरियाले कोभिड बिरामीहरुलाई ज्वरोका बिरामी बताउने गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij