• Wednesday 9th of September 2026

धानबालीमा रोगको समस्या, किसान चिन्तित


  • आशाका किरण

कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो । कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताउनुभयो । “सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ”, उहाँले भन्नुभयो, “यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो ।” उहाँले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको बताउनुभयो ।

“धान लगाउने बेला युरियासँग जिङ्क मिसावट गरेर हाल्नुपर्ने हुन्छ यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि होे”, उहाँले भन्नुभयो, “कैलाली–कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ ।” उहाँका अनुसार पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ ।

“औसतमा पाँच प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ”, उहाँले भन्नुभयो, “धान लगाउने बेला किसानले पनि सचेत हुन जरुरी छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका तुला दत्त जोशीको छ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ । उहाँले लगाएको सर्ज ५२ जातको बीउमा रोगको समस्या देखिएको बताउनभयो ।

“अन्य जातको धानबालीमा समस्या छैन यसमा मात्रै रोग देखिएको छ”, उहाँले भन्नुभयो, “धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ ।” उहाँले पाँच बिघा जमिन वार्षिक भाडामा लिएर धानखेती गरिरहेको बताउनुभयो । “सर्ज, सिन्की, सावित्र र मनसुली चार जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जमा पूरै सखाप छ”, उहाँले भन्नुभयो, “विगतका वर्षमा यस्तो हुन्थेन यो वर्षमात्रै भयो ।”

वार्षिक रु ५० हजारमा भाडामा लिएको जग्गामा धान नफलेपछि उहाँ चिन्तित बन्नुभएको छ । “यो रोगले गर्दा यो वर्ष लगानी पनि नउठ्ने भयो”, उहाँले भन्नुभयो, “रोपाइँ गर्दा मात्रै रु ४० हजार जति खर्च भएको थियो ।” उहाँले पटकपटक गरेर घानबालीमा मलखाद छरे पनि धानबाली नआएको बताउनुभयो ।

“रोग देखिएपछि धानको बोट लगेर कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकलाई देखाए रोग पत्ता लगाउन सकिएन”, उहाँले भन्नुभयो, “कृषि प्राविधिकको सल्लाहअनुसार पछि जिङ्क मिसाएर युरिया हाले त्यसले पनि काम गरेन ।” कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij