• Wednesday 9th of September 2026

‘किसानको पीडा सरकारले सुन्दैन’


  • आशाका किरण

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गर्नुभएको छ । अधियाँमा धानखेती गर्नुभएको उहाँले खेतको बाली बेमौसमी वर्षाले क्षति पु-याएपछि भित्रयाउन सक्नुभएको छैन । पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उहाँले बताउनुभयो ।

“पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार÷पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ,” उहाँले भन्नुभयो, “धान जति सबै झरेर जनावरलाई खुवाउने पराल मात्रै बाँकी छ ।”उहाँका अनुसार करिब एक बिघा गहिरो जमिनमा गरेको धान बाली पानी भरिएर कुहिएको छ । गतवर्ष कात्तिकको वर्षाले पनि उहाँको काटेको धान खेतीमा क्षति गरेको थियो ।

बर्सेनि वर्षाले बालीमा क्षति पु-याएपछि खानलाई अन्नको अभाव हुने स्थिति आएको भीमदत्त नगरपालिका–१७ कै किसान गरिब खुना बताउनुहुन्छ ।“गतवर्ष काटेको धान वर्षाले बिगा-यो, अहिले पनि यस्तै भएको छ, अधियाँ गरेर वर्षभरी खाने हामीलाई समस्या भएको छ,” उहाँले भन्नुभयो, “पाकेको धान पानीले झरेर पराल मात्रै बाँकी छ, अब यसबाट के साहूलाई दिने के हामीले खाने ?”बुर्सेनि धानखेतीमा क्षति भए पनि आफूहरुले अहिलेसम्म राहत र क्षतिपूर्ति नपाएको रजनी डगौँराको गुनासो छ । “क्षति भएको धानको विवरण टिपायौँ, क्षतिपूर्ति पाउने आश थियो, तर पाएनौँ,” उहाँले भन्नुभयो, “किसानको पीडा सरकारले कहिले सुन्ने ?”

जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भएको धानबाली भित्रर्याउन नपाउँदा किसान चिन्तित भएका छन् । केही दिनयताको अविरल वर्षा र त्यसअघि असोज पहिलो साताको बाढीले कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास, दोधाराचाँदनी, लालझाडी गाउँपालिका, भीमदत्त नगरपालिकामा धान बालीमा बढी क्षति भएको छ ।

“पाकेको धान दोदा नदीमा आएको बाढीले खेतमै ढलेको छ, धान कुहिएर पूरै सखाप भएको छ,” लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकले भन्नुभयो, “धान भित्रायाउन पाएका छैनौँ, कुहिएर खेतमै उम्रिएको छ ।”बाढी तथा बेमौसमी वर्षाले ठाउँ ठाउँको धानबालीमा क्षति पु-याएको प्रारम्भिक जानकारी आए पनि क्षतिको एकीन विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो ।

“असोजको पहिलो साताको बाढी र अहिले केही दिनको अविरल वर्षाले धान खेतीमा क्षति गरेको छ,” उहाँले भन्नुभयो, “पालिकालाई क्षतिको एकीन विवरण सङ्कलन गरेर पठाउन पत्राचार गरेका छौँ ।” जिल्लामा ४८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij