• Tuesday 8th of September 2026

प्रचण्ड गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु


  • आशाका किरण

विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् ।

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन् ।

युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ । विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij