• Tuesday 8th of September 2026

धान बिक्री नहुँदा किसान मर्कामा


  • आशाका किरण

बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् ।

नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।

सरकारले यसवर्ष मोटा धानको समर्थन मूल्य रु दुई हजार नौ सय ६७ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई रु दुई हजार चार सय चारमा बिक्री गरिरहेको डुडुवा कम्दीका किसान हरिराम यादव बताउनुभयो । रकम अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उहाँको भनाइ छ ।

खजुरा-३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउनुहुन्छ । सरकारले तोकेभन्दा प्रतिक्विन्टल रु पाँच सय कममा व्यापारीले धान खरिद गरिरहेको उहाँको भनाइ छ ।

नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल रु दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् ।

उक्त कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद नभएको बताउनुभयो । धान खरिदका लागि छलफल चलिरहेको भन्दै उहाँले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताउनुभयो । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij