• Tuesday 8th of September 2026

कैलालीमा धान खरिद सुरु


  • आशाका किरण

सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो ।

‘‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो ग¥यो”, टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भन्नुभयो, “ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौँ ।” उहाँले अब तोकिएकै मूल्यमा धान बिक्री पाइने बताउनुभयो ।

केवल डगौरा चौधरी जस्तै डाडाँबोझीका वीरमोहन थारुले पनि सरकारले धान खरिद गर्न थालेपछि खुसी व्यक्त गर्नुभयो । ‘‘सरकारले काँटा लगाएर धान गरिद गर्न लागेकोमा खुसी लागेको छ तर यो काँटा लगाउन अलि ढिला भयो,” उहाँले भन्नुभयो, “ढिलाइ भएका कारण अधिकांश किसानले न्यून मूल्यमा धान बिक्री गरिसकेका थिए ।”

सरकारले सत्ती क्षेत्रबाट पहिलो पटक साढे ५२ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । यहाँ किसानले धान ३० क्विन्टलसम्म सिधैँ बेच्न पाउने र त्यसभन्दा बढी बिक्रीका लागि सिफारीस ल्याएर बेच्नुपर्ने प्रावधान रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीका जीतबहादुर बोहरा बताउनुहुन्छ ।

‘‘हामीले धान खरिद सुरु ग-यौँ, पालैपालो किसानको धान खरिद सुरु गरिएको छ’’, उहाँले भन्नुभयो, “तीस क्विन्टलसम्म सिधैँ खरिद हुन्छ, त्यसभन्दा बढी भए वडाको सिफारिस ल्याउनुपर्छ ।’’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले जिल्लाबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार कैलालीको टीकापुर, सत्ती र धनगढीको मोहनपुरबाट धान खरिद सुरु भएको हो । कैलालीको जोशीपुर र भजनीमा केही दिनभित्र धान खरिद प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । यहाँ सरकारले अहिले मोटा धानप्रति क्विन्टल रु दुई हजार नौ सय ६७ खरिद गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij