• Saturday 25th of July 2026

‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’


  • आशाका किरण

हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ । तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश नगरेको बताइएको छ ।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५.३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको छ । त्यसपछिका केही महिनासम्म यो निरन्तर उकालो लाग्दै जुलाईमा १९.९ प्रतिशत पुगेको हो ।

अगष्टमा यो दर केही घटेर १८.७ प्रतिशतमा झरेको छ, तर अझै पनि अहिलेसम्मकै उच्चतम विन्दुमा रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ का कारण हुन सक्ने गम्भीर बेरोजगारीका कारण पाँचमध्ये एक जना सक्षम चिनियाँले रोजगारी गुमाएका रिपोर्टमा उल्लेख छ ।

कोभिड–१९ तथा रूस युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाब चीनले पनि व्यहोरेको कारण आर्थिक मन्दीको सामना गर्नुपरेको र यसका कारण कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई कटौती गर्ने नीतिका कारण बेरोजगारी दरमा वृद्धि भएको हो ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले पनि आफ्ना कर्मचारीलाई कटौती गरिरहेको छ ।

हालै, शाओमीका प्रवक्ताले सीएनएनलाई बताएअनुसार शाओमीले ‘नियमित कर्मचारी अनुकूलन र संगठनात्मक सुव्यवस्थापन’ अभियान सञ्चालन गरेको थियो । यो कदमले कम्पनीको १० प्रतिशतभन्दा कम कर्मचारीलाई मात्र असर गरेको उहाँले बताउनुभयो ।

“चिनियाँ सरकारी सञ्चारमाध्यमले भने शाओमीले आफ्नो स्मार्टफोन र इन्टरनेट व्यवसाय एकाइलगायत विभिन्न विभागमा हजारौं कर्मचारी कटौती गर्ने जानकारी दिएका छन्,” द हङकङ पोस्टले लेखेको छ ।

वित्तीय दस्तावेजका अनुसार शाओमीले सन् २०२२ को पहिलो नौ महिनामा करिब एक हजार ९००कर्मचारी कटौती गरेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीमा लगभग ३५ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमध्ये अधिकांश चीनमा आधारित थिए ।

चीनको शून्य–कोभिड प्रतिबन्धको प्रतिकूल प्रभावका कारण कम्पनीको राजस्व १० प्रतिशतभन्दा बढीले घटेको छ ।

सीएनएनको रिपोर्टमा भनिएको छ, “चीनको शिक्षा मन्त्रालयले गत महिना ११.६ मिलियन कलेज स्नातकहरू रोजगार बजारमा प्रवेश गर्ने बताए अनुसार अर्को वर्ष स्थिति अझ खराब हुन सक्नेछ ।”

वासिङ्टन डिसीस्थित जेम्सटाउन फाउन्डेसनका सिनियर फेलो विली लामलाई उद्धृत गर्दै हङकङ पोस्टले लेखेको छ, “निश्चित रूपमा, यो चार दशकभन्दा बढी समयको अवधिमा युवाहरूका लागि चीनको सबैभन्दा खराब रोजगारी सङ्कट हो । व्यापक बेरोजगारी यहाँको कम्युनिस्ट पार्टीका लागि ठूलो चुनौती भएको छ ।”

संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०३० को दशकमा १५ देखि ६४ वर्ष उमेर समूहका रूपमा परिभाषित गरिएको चीनको कामकाजी उमेरको जनसङ्ख्या तीव्र गतिमा घट्न थाल्नेछ र यो शताब्दीको अन्त्यसम्ममा ६० प्रतिशतभन्दा बढीले घटेर ३७ करोड ८० लाखमा झर्नेछ ।

सन् २०१४ मा ९९ करोड ७० लाख रहेको काम गर्ने उमेरको जनसङ्ख्या सन् २०२१ मा घटेर ९८ करोड ६० लाखमा झरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij