• Saturday 25th of July 2026

संविधानको रक्षा अहिलेको प्राथमिकता : अध्यक्ष नेपाल


  • आशाका किरण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेका छन्, भन्नुभयो । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै उहाँले भन्नुभयो, “जनअपेक्षाअनुसार नमूना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बोली व्यवहारमा एकता कायम होस् ।”

मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएको उल्लेख गर्दै उहाँले ती समस्या समाधानका लागि सबै एकजुट भएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा बढेको कालोबजारी, महँगी र बेरोजगारीलाई अन्त्य गर्नेगरी काम गर्न सरकारलाई आग्रह गर्दै सङ्कटग्रस्त अर्थतन्त्र उकास्ने गरी काम गर्न सुझाव दिनुभयो ।

विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij