• Wednesday 9th of September 2026

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : अध्यक्ष नेपाल


  • आशाका किरण

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताउनुभएको छ । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार ः कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताउनुभयो ।

“प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ”, उहाँले भन्नुभयो, “यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुप¥यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।” एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उहाँले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उहाँले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताउनुभयो । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्षको जरुरी रहेको बताउनुभयो । “जरो गाडेर रहेको यो विकृतिको अन्त्य गर्न धेरै समय लाग्छ, अहिले हाम्रो सबैभन्दा ठूलो दुस्मन नै यही हो”, उहाँले भन्नुभयो । उहाँले राजनीतिक, सांस्कृतिक र विकास निर्माणका क्षेत्रमा यसले गहिरो असर गरिरहेको छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले समृद्धिको मुल बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै चाहेर नचाहेर पनि समाजमा यो जबरजस्त रहेको बताउनुभयो । “यसका कारण नेपाल समृद्धिको यात्रामा अघि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तन भए, तर बदलिँदो व्यवस्थाअनुसार राज्यसंयन्त्र नबदलिँदा भ्रष्टाचार बढेर गएको छ ।” यसको नियन्त्रण गर्न राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो । “प्रणालीले काम गर्ने व्यवस्था नहुँदासम्म यसको न्यूनीकरण हुन सक्दैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रले नै यसलाई मलजल गरिरहेको छ, अब पारदर्शीता अपनाउनुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले राजनीतिक नेतृत्वले नै मुलुकमा भएका विभिन्न समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भ्रष्टाचारको बहुआयामिक असरबाट सिङ्गो समाज नै प्रभावित बन्दै गएको जनाउँदै उहाँले यसविरुद्धको आवाज उठाउन सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विधिको शासन स्थापित भए मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्भव भएको बताउनुभयो । “यसको महामारीबाट हामी गुज्रिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनियमितता क्षेत्रका समस्या पहिचान भइसकेको छ, अब सामाधानको दिशामा अगाडि जानुपर्छ, अब ‘एक्सन’मा उत्रनुपर्छ ।” कुल आठ परिच्छेदको सो पुस्तकमा भ्रष्टाचारको परिचय, मात्रा, यसको सैद्धान्तिक र व्यवहारिक कारण, दुष्प्रभाव, नियन्त्रणका प्रयास, सकारात्मक अभ्यास र समस्याको समाधानलगायत विषयलाई समेटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij