• Tuesday 8th of September 2026

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा


  • आशाका किरण

उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गर्नुभएको छ ।

उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको जानकारी प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रसङ्घका महासचिब गुटर्रेसका प्रवक्ता स्टेफन दुजारिकले दिनुभएको थियो ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोेमा रहेको स्थायित्वका लागि संयुक्त राष्ट्रसङ्घीय सङ्गठन अभियानले कङ्गोका अधिकारीहरूसँग समन्वय गरेर घाइतेहरूलाई उद्धार गरिरहेको दुजारिकद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गुटेर्रेसले शोक सन्तप्त परिवार, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका जनता र सरकारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

महासचिवले आक्रमणका दोषीलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय ‘माइन एक्सन सर्भिस’ले घटनाको अनुसन्धानमा कङ्गोेली अधिकारीहरूलाई सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

गुटेर्रेसले डीआरसीमा आफ्ना विशेष प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसङ्घले कङ्गोको सरकार र जनतालाई देशको पूर्वी क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने प्रयासमा निरन्तर सहयोग गर्ने पुनः प्रतिवद्धता पनि जनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij