• Wednesday 9th of September 2026

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५८ ले वृद्धि भई चार सय १५ दशमलव ८३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्य उकालो लाग्दा बैङ्किङ उपसमूहको भने ओरालो लागेको छ ।

कारोबार भएकामध्ये आज एक सय ६९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३० वटा कम्पनीको शेयर मूल्यमा घटेको छ । साथै छ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा कूल एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता शेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ मूल्यमा कारोबार भएको छ । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ५० अर्ब ४० करोड २२ लाख ८३ हजार दुई सय नौ पुगेको छ ।

यो दिनको कारोबारमा जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको शेयर रू २३ करोड २६ लाख आठ हजार तीन सय ८८ कारोबार भएको छ । त्यस्तै माथिल्लो तामाकोसीको शेयर रू११ करोड ३८ लाख ३८ हजार एक सय ५९, ङादी ग्रुप अफ पावरको शेयर रू १० करोड ४८ लाख ४७ हजार तीन सय १६, रिडी पावर कम्पनीको शेयर रू नौ करोड चार लाख दुई हजार छ सय १५ र हिमालयन डिस्टिलरी शेयर रू आठ करोड १७ लाख १५ हजार नौ सय ७३ मा कारोबार भएको छ ।

नेप्सेका अनुसार ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर नौ दशमलव ९७ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रभु सेलेक्ट फन्ड आठ दशमलव ४५, एनआइबिएल समृद्धि फन्ड दोस्रो छ दशमलव २१, आरबिबी म्युचुअल फन्ड पहिलो पाँच दशमलव ५४, एनआइसी एसिया फन्ड पाँच दशमलव शून्य एक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij