• Saturday 25th of July 2026

नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति


  • आशाका किरण

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताउनुभएको छ ।

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।” यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको उहाँको भनाइ छ । नेपाली सेनाले सयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्वशान्ति स्थापनामा समेत ठूलो योगदान गरी विश्वमा नेपालको प्रतिष्ठा बढाएको उहाँको भनाइ छ ।

प्रधानसेनापतिले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रुपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

सम्बोधनकै क्रममा उहाँले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताउनुभयो । उहाँले सैनिक कल्याणकारी कोषको रकम पारदर्शीरुपमा सदुपयोग गर्दै सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताउनुभयो ।

कार्यक्रममा सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भइरहेको कुरा बताउँदै यस्ता सम्मेलनले भूपु सैनिकबीच आपसी भेटघाट र मिलनसमेत हुने धारणा व्यक्त गर्नुभयो ।

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानीमार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्ने बताउनुभयो ।

सेनाको श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ गरिएको हो । आजै सोही समयमा दोलखा र सिन्धुलीमा समेत उक्त जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागिसमेत भूपु सैनिक सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो ।

नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै नेपाली सेनाले मुलुकका विभिन्न क्षेत्रमा निरन्तररुपमा भूपु सैनिक सम्मेलन गर्दै आएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपु सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सम्मेलनमा भूपु सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष÷महिला सम्मान र अन्तक्र्रिया तथा छलफलसमेत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij