• Wednesday 9th of September 2026

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली


  • आशाका किरण

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताउनुभयो ।

“राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।”

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायका लागि ओबिसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताउनुभयो ।

गरिबी अन्त्य गरी समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उहाँको भनाइ थियो ।

वीरगञ्जस्थित टाउन हलमा सुरु भएको ओबिसी महासङ्घको महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij