• Saturday 25th of July 2026

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण


  • आशाका किरण

एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु-याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ ।

एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भन्नुभयो,“कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ ।

सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो ।

यस सम्बनधमा एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अप्रिल १०, २०२३ मा दिल्ली–लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ–१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ । मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पु¥याएपछि कमान्डमा रहेका विमान चालकले आफु दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ ।

एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरीमा एफआइआर पनि दर्ता गरिएको छ । एयर इन्डियामा हाम्रो लागि जहाजमा सवार सबैको सुरक्षा र सम्मान महत्वपूर्ण छ । हामी प्रभावित चालक दलका सदस्यहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछौं ।”

अन्य यात्रुहरुलाई परेको असुविधाप्रति कम्पनीले दुःख प्रकट गर्दै सोमबार दिउँसो लण्डनका लागि उडान तालिका परिवर्तन गरेको जनाएको छ ।

विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ । आरोपी र पिडित दुवै दिल्ली बाहिरका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij