\n\n\n
  • Sunday 25th of October 2026

कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना


  • आशाका किरण

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताउनुभएको छ । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले कोरलामा चाँडो भन्सार स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर निरीक्षणका लागि आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट आउनुभएका अध्यक्ष तिमिल्सिनाले चीनले भन्सार निर्माणको काम सकाएको उल्लेख गर्दै नेपालमा बल्ल जग्गा प्राप्ति भएको बताउनुभयो । “कोरलामा चीनतर्फ भन्सार निर्माणका लागि उनीहरूले सबै पूर्वाधार बनाइसकेका छन्”, उहाँले भन्नुभयो, “नेपालमा जग्गा प्राप्तिको काम सकियो, तर अब निर्माण गर्ने कुरामा कमी भएको छ ।” आफूले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई कोरलामा नेपालले चाँडै भन्सार कार्यालय निर्माणको काम गर्नुपर्ने जानकारी गराएको उहाँले बताउनुभयो ।

“यो करिडोर राष्ट्रिय गौरवको परियोजना हो”, उहाँले भन्नुभयो, “यसबाट सामान्य आउजाउ मात्रै नभएर त्रिदेशीय व्यापारको लाभ नेपालले लिन सक्छ ।” कोरला नाका धार्मिक पर्यटकीय मार्गसँगै व्यापारिक मार्ग पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उत्तरमा चीनको सिमाना कोरला जोड्ने यस करिडोरले दक्षिणमा नवलपुरको त्रिवेणी भन्सार कार्यालयबाट भारतसँग सीमा जोड्ने काम गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले कालिगण्डकी करिडोरको समग्र प्रगति राम्रो भएको भन्दै निर्माण कम्पनीले केही खण्डमा बेवास्ता गर्दा काम केही सुस्त गतिमा भएको बताउनुभयो । “अहिले पछिल्लो समय कामले केही गति लिएको छ, अबको तीन वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माणको काम पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो, “आयोजनाको काम ढिलो हुँदा लागत पनि बढ्छ, हामीले सेवा पनि ढिलो पाउँछौँ । लागत बढी हुने कुरामा किन लाग्ने, त्यसैले काम छिटो गराउन सबै जना लाग्नुपर्छ ।” यस करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको कालिगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij