• Tuesday 8th of September 2026

रोपाइँ गर्न ढिलाइ


  • आशाका किरण

ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । “अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएकोे छ”, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भन्नुभयो, “मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको हो ।”

अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । “पोहोर यतिबेला झन्डै बाइस प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको थियो”, उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा जिल्ला यस वर्ष रोपाइँमा ढिलाइ भएको छ ।”

मुख्य गरी दरौदी करिडोर क्षेत्रका फाँट तथा खेतमा भने आकाशे पानी नपर्दै पनि रोपाइँ गर्नका लागि पानीको अभाव नहुने भएकाले ती क्षेत्रमा रोपाइँ भइसकेको उहाँको भनाइ छ । “आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा मनसुनी वर्षा नभएसम्म रोपाइँ गर्न सक्ने अवस्था हँुदैन”, प्रमुख अधिकारीले भन्नुभयो, “जहाँ सिँचाइको सुविधा तथा पर्याप्त पानीको सुविधा छ ती क्षेत्रमा मात्र रोपाइँ सकिएको हो ।”

जिल्लाको दक्षिणी भू–भागमा धेरैजसो बर्खे धानखेती हुने गरेको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यहाँका खेतीयोग्य जमिनमध्ये जिल्लाको ३५ प्रतिशत भू–भागमा मात्र धानखेती हुने उहाँको भनाइ छ । “धानखेती हुने जमिनमध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिँचाइको सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “बाँकी जमिनमा रोपाइँ गर्न भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता गोरखाका किसानको छ ।”

केही दिनदेखि वर्षा सुरु भएकाले सबैतिर रोपाइँ गर्न सुरु भइरहेको उहाँले बताउनुभयो । गोरखा जिल्लामा करिब १० हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कार्यालयले जिल्लाभित्रका सबै पालिकासँग नियमितरूपमा धान रोपाइँको तथ्याङ्क लिएर मन्त्रालयमा जानकारी गर्ने काम भइरहेकोसमेत उहाँले बताउनुभयो ।

जिल्लामा किसानले सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२ जातका धान रोप्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा किसानले अन्य केही उन्नत जातको धानका बीउ पनि लगाउन सुरु गरेका छन्”, केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, “खेती प्रणालीमा यान्त्रिकीकरणको प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij