• Tuesday 8th of September 2026

बाँकेमा १५ प्रतिशत धान रोपाइँ


  • आशाका किरण

वर्षा सुरु भएसँँगै किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् ।

बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यहाँ अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताउनुभयो । उहाँका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन् ।

“पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको छ”, कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भन्नुभयो, “सिँचाइ सुविधा पुगेको ठाउँमा केही किसानले मात्रै रोपाइँ सुरु गरेका छन् ।” उहाँले रोपाइँका लागि अझै समय रहेको भन्दै किसानलाई नआत्तिन आग्रह गर्नुभयो । साउनमा रोपाइँ गरे पनि उत्पादन हुने उहाँको भनाइ छ ।

आकाशे पानीको भरमा रहेका यहाँका किसानले पानी परेपछि अहिले धमाधम धानको बीउ राख्न थालेका छन् । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधाको अभावमा समयमा रोपाइँ गर्न नसकिएको बाँकेको डुडुवा गाउँपालिका–२ का किसान वृजमोहन गुप्ता बताउनुहुन्छ ।

समयमै पानी नपरेपछि किसानले बोरिङबाट धानको बीउ राख्ने गरेका छन् । थोरै क्षेत्रफलमा रोपाइँ गर्ने किसानले बोरिङको प्रयोगबाट नै रोपाइँ गर्छन् । ठूलो क्षेत्रफलमा रोपाइँका लागि आकाशे पानीको विकल्प छैन । सिँचाइ र मलको अभावमा यहाँका किसानले समयमा धान रोपाइँ गर्न नसकेको किसान अगुवा डुडुवाका राधेश्याम वर्माले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij