• Tuesday 8th of September 2026

चैते धान भित्र्याउने तयारीमा किसान


  • आशाका किरण

दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् ।

चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्र्याउने तयारीमा जुटेको बङ्गलाचुली गाउँपालिका–३ मूलाबारीका किसान कृष्णबहादुर नेपालीले बताउनुभयो । पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा जुटेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, “चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ, तर वैशाखमा रोपेको धान अझै पाकेको छैन, असारको अन्तिमसम्म पाक्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा छन् ।”

पाँच रोपनी जग्गामा चैते धानखेती गर्नुभएका नेपालीले यसवर्ष लामो समयसम्म खडेरी परे पनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशबाट पानी नआए पनि सिँचाइको समस्या भएन, धानको बाला राम्रो लागेको छ ।”

विगतका वर्षभन्दा यस वर्ष चैते धान राम्रो रहेको मूलाबारीकै किसान भुमा घर्तीले बताउनुभयो । समयमै धान खेतीसँगै मल र पानी पाइरहेकाले धानबाली राम्रो भएको घर्तीको भनाइे छ । “‘धानले समयमै मल र सिँचाइ पाइरहेकाले राम्रो छ, उत्पादन बढ्ने आशा पनि छ”, उहाँले भन्नुभयो ।

राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले पनि चैते धान यसपाली राम्रो फलेको भए पनि भित्र्याउने समयमा पानी परिरहेकाले समस्या भएको बताउनुभयो । घरमा आर्थिकोपार्जनमा चैते धानले निकै सहयोग पु-याउने भए पनि यो समयमा भित्र्याउन समस्या हुने गरेको उहाँको भनाइ छ ।

केहीवर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहनस्वरूप बीउ निःशुल्क दिनेदेखि सिँचाइका लागि कुलो मर्मतलगायतका काम गरे पनि पछिल्लो समयमा सहयोग नगरेको किसान बताउँछन् । घोराही उपमहानगरपालिका– १ को सुकाखोला र बङ्गलाचुली गाउँपालिका–३, ४ र ८ अन्तर्गत पर्ने गहतेरा, मूलाबारीलगायत विभिन्न ठाउँमा र देउखुरीका केही क्षेत्रमा समेत चैते धानखेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ । पछिल्लो समयमा सिँचाइ र मलको अभाव, बर्षात्मा धान भित्र्याउन समस्या हुने भएकाले चैते धानखेती घट्दै गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij