• Tuesday 8th of September 2026

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ


  • आशाका किरण

रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई सय ७६ हेक्टरमा रोपाइँ भएको हो । असार १ सम्ममा तीन प्रतिशत, असार १५ भित्रमा १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा असार अन्तिमसम्ममा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो । हालसम्म सबैभन्दा बढी नवलपुरमा ८५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा ८०, स्याङ्जामा ५०, पर्वतमा ६५, बागलुङमा ६५, तनहुँमा ६८, गोरखामा ५० र लमजुङमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जिल्लाबाट आएको तथ्याङ्कलाई विश्लेषण गरेर निर्देशनालयले हरेक शुक्रबार रोपाइँको प्रदेशगत तथ्याङ्क तयार पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताउनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ खेतीयोग्य जमिनमध्ये यो वर्ष ९७ हजार आठ सय ९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ । गत वर्ष एक लाख चार हजार छ सय २३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो ।

गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँमा चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन् ।

गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । निर्देशनालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चिँदै गएको हो ।

जग्गा बाँझिने क्रम पनि बढ्दै गएको छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको छ । बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग कीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधँै समस्या बेहोर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij