• Tuesday 8th of September 2026

रू २६ करोड बढी राजस्व सङ्कलन


  • आशाका किरण

मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष रू चार करोड ४२ लाख ५६ हजार बढी राजस्व सङ्कलन भएको हो ।

सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले रू तीन करोड ८० लाख ४३ हजार र सबैभन्दा कम सर्लाहीले रू दुई करोड ४६ लाख ७० हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले रू तीन करोड दुई लाख २३ हजार पाँच सय र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले रू दुई करोड ७६ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै पर्साले रू तीन करोड ४२ लाख ६५ हजार, रौतहटले रू तीन करोड एक लाख चार हजार, महोतरीले रू तीन करोड २३ लाख ६८ हजार पाँच सय, धनुषाले रू दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले रू दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लामा गत आवमा पाँच हजार नौ सय ८८ सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा पाँच सय ५६ को मृत्यु भएको छ भने नौ हजार छ सय ७० घाइते भएका कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले प्रदेशका सबै जिल्लामा विभिन्न समयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए । गत आवमा छ हजार दुई सय ७५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख २३ हजार पाँच सय ९१ सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij