• Friday 24th of July 2026

शैलुङको आलु राप्रपा अध्यक्ष लिङ्देनलाई उपहार


  • आशाका किरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् ।

आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने बताउनुभयो । सरकारले दिएको अनुदान पनि बिचौलियामा बढी जानेको कुरालाई आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँले आफूहरूले उत्पादन गरेको आलुको पहिचानसम्म नभएको कुरा गम्भीर भएको ठहर थियो ।

शैलुङ क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्ने उद्देश्यले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई आलु उपहार दिएको किसानको भनाइ छ । शैलुङ गाउँपालिका–८ का किसान प्रवीण थपलियाले शैलुङको आलु मुढेको भनेर बेच्ने गरेको र खास आलु उत्पादन गर्ने ठाउँ ओझेलमा परेको सुनाउनुभयो ।

“शैलुङको आलु अग्र्यानिक छ, युरिया मलको प्रयोग गरेको छैन”, शैलुङ क्षेत्रको विकासमा राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले राजनीतिक दल र मन्त्रीहरूलाई आलु उपहार दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसअघि राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई दिने क्रममा आज अध्यक्ष लिङ्देनलाई प्रदान गरेका हौँ ।”

शैलुङका किसानले आलु बेच्नका लागि बाटोको समस्या रहेको र शैलुङबाट उत्पादन भएको आलु मुढेको भनेर बेच्ने गरेका दुःखेसो राखेका थिए । किसानले शैलुङको आलु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई उपहार दिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij