• Tuesday 8th of September 2026

गाउँमै मेवा खेतीमा रमाउँदा…


  • आशाका किरण

कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गर्नुभएको छ । उहाँले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहनुभएको छ । उहाँको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उहाँले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री गर्नुहुन्छ । बजारमा मेवाको मूल्य प्रतिकेजी रु एक सयभन्दा माथि नै रहेको छ ।

व्यवसायी तामाङले भन्नुभयो, “ सात वर्ष कोरियामा मासिक रु दुई लाखभन्दा बढी तलबमा काम गरेँ । कोरोना महामारीको असर परेपछि स्वदेश फर्किएँ । गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरेँ । मेवा लगाएँ डेढ दुई वर्ष भित्रनै उत्पादन दिन थाल्यो ।”

पर्याप्त मेवा उत्पादन हुन थालेपछि उहाँले यतिमा नै सन्तोष मान्नुभएको छैन । उहाँले चकलेट र जुस बनाउने उद्योग गाउँमै स्थापना गर्ने तयारी गरिरनुभएको छ । “चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु”, उहाँले भन्नुभयो, “थकाइ मार्दिन, आफ्नै माटोमा केही गरेर देखाउँछु ।”

तामाङको मेवा खेती गरिएको –८ गागल जिल्ला सदरमुकामबाट झण्डै २५ किलोमिटर पश्चिममा पर्दछ । चकमन्न गाउँको बीचमा पर्ने कालोमाले टोलमा उहाँले आफ्नो, दाजुको र भाइको समेत गरी ३८ रोपनी जग्गामा मेवा खेती गरेका गरिरहनुभएको छ । दुई वर्षअघि लगाएका बिरुवाबाट राम्रो फल लागेपछि उहाँ अझ मेवा खेती विस्तारका लागि हौसिनुभएको छ ।

उहाँले भन्नुभयो, “मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने तयारी गरेको छु ।” दुई वर्षअघि उहाँले पाँच हजार मेवाको बिरुवा लगाउनुभएको थियो । “विभिन्न रोग, किरालगायतको सङ्क्रमणले झण्डै एक हजार दुई सय बिरुवा खेर गए । फार्ममा तीन हजार दुई सय बोट हुर्केका छन् । ”

उहाँका अनुसार बिरुवा खरिददेखि हालसम्म प्रतिबोट रु आठ सय जति खर्च भएको छ ।
“बल भएका बेला विदेशमा गएर काम गर्दा कमाइएला तर वृद्ध अवस्थामा के गर्ने ?” उहाँले भन्नुभयो, “त्यसैले आफ्नै गाउँ ठाउँमा केही गरेर खान सक्नुपर्दछ ।” एउटै मेवा पाँच केजीसम्मको फल्ने गरेको उहाँले बताउनुभयो । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने पनि उहाँको अनुभव छ ।

उहाँको बगैँचामा ताइवानी हाइब्रिड मेवा फस्टाएको छ । हावाहुरी, शित र रोगकिराका कारण हमेसा क्षति नहुने यस जातको मेवा बाँदरले समेत नरुचाएकाले यसैलाई उहाँले विस्तार गर्ने सोच बताउनुभयो । मेवा खेतीमा रमाउनुभएका उहाँले हालसम्म राज्यका कुनै निकायमा अनुदानको लागि आवेदन गर्नुभएको छैन । सिँचाइ, कीटनाशक औषधि तथा विषादी, बजारीकरण, हार्वेस्टिङ कीट, मललगायतका सामग्री उहाँ आफैँले खरिद गर्ने गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij