• Friday 24th of July 2026

सहेला फाँटमा कागतीखेती


  • आशाका किरण

बलेवा (बागलुङ), २९ भदौ : तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याइनभ्याइ छ । बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न तथा बजार पु¥याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसान खुसीले दङ्ग छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ–१४ अर्माहका ४३ किसानको आशाको बारी हो सहेँलाको फाँट । चासो कृषक समुहमा आबद्ध उनीहरुले आफ्नै मेहनतले फल्ने फलबाट समृद्धिको सपना देखेका छन् । “पहिलो चरणणमा दुई सय किलो कागती टिपेर बिक्री गरियो, अनौठो अनुभव भइरहेको छ”, समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले भन्नुभयो, “पहिलो उत्पादन स्थानीय बजारमै खोसाखोस भयो ।”

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजिरहेका छन् । रु २० लाख लगानीबाट सुरु भएको कागतीको व्यावसायिक खेतीमा रु एक करोड रुपैयाँ भइसकेको छ । तीन सय रोपनीभन्दा धेरै जमिनमा चार हजार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवा फल दिन थालेको सुवेदीले बताउनुभयो ।

अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेका छन् । जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकसमेत आउने गरेको समूहका अध्यक्ष सुवेदी बताउनुहुन्छ । सरकारी अनुदानमा आशा नराखी आफैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् । रु एक लाख बिरुवाको ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाइदिएको छ ।

हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल्न थालेको एक वर्षमा नै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताउनुभयो । समूहमा आबद्ध रहेका किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा दिने गरेको छ । कागती फार्म सञ्चालनमा रहेको जग्गाका धनीहरुलाई नै समूहको सदस्य बनाइएको छ । समूहमा सबै सदस्यले समान लगानी गरेको सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij