• Friday 24th of July 2026

खुम्रे किराको समस्या : आठ वर्षदेखि हैरान छन् पुराकसिङका किसान


  • आशाका किरण

मलेखु, १९ असोजः आठ वर्षअघिदेखि बारीमा खुम्रेकिराको समस्याले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । २०७२ सालयता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको हो । किसानले बारीमा लगाएको फलफूल, तरकारी, कोदो मकै सबै खुम्रेकिराले नष्ट गरिदिने भएपछि बसाइँ नै सर्नुपर्ने सोचमा पुगेका छन् ।

“खेतबारी नभएको होइन, फल्न, पाक्न पाए आफूहरुलाई खानपुग्ने जग्गाजमिन छ तर, जे चीज लगाए पनि उम्रेपछि खुम्रेकिराले नष्ट गरिदिन्छ”, स्थानीय हुन्डरी तामाङ भन्नुहुन्छ, “खुर्सानी, अदुवा, बेसारसमेत जरै खाइदिने भएपछि हामी यो ठाउँमा खेती किसान गरेर बस्न नसक्ने अवस्थामा आयो ।” पुराकसिङमा ३१ घरको बसोबास छ । १४ घर चेपाङ र १७ घर तामाङ समुदायको बसोबास रहेको गाउँका सबैलाई खुम्रेको समस्याले पिरोलेको छ । भकारोदेखि बारीसम्म जहाँ पनि खुम्रे किराले सताएको छ । भकारोमा मल बोक्दा पनि खुम्रे किरा छानेर लान्छौँ । विषादी पनि छ-यौँ । तर कसैगरी पनि खुम्रेकिरा नियन्त्रण भएन । खेती लगायो खुम्रे किराले खाइदिन्छ, भित्र्याउन पाइँदैन ।” “३÷४ वर्षदेखि त झनै बाली सखाप पार्ने गरेको छ”, पुराकसिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्षसमेत रहनुभएका तामाङले दुःख सुनाउनुभयो ।

कोल्टो र भिरालो जमिनमा बलौटे माटो भएकाले पनि खुम्रेकिराले बढी सताएको किसानको बुझाइ छ । खुम्रेकिराको नियन्त्रण गर्न नसक्दा विकल्पको पर्खाइमा रहेका उनीहरु भन्छन्, “खेती ग¥यो खुम्रेकिराले खाइदिन्छ, ज्याला मजदुरी गरेर दुई छाक जोहो गरिरहेका छौँ । खुम्रेकिराले गाउँ नै छाड्नुपर्ने बाध्यता बनाइसक्यो ।”

पाखो भिरालो बारीमा दुःख गरेको खुम्रेकिराले सखाप पारिदिने भएपछि स्थानीय किसानहरु निराश बनेका छन् । “माटोभित्र बस्ने किराले जुनसुकै बालीको पनि जरा खाइदिन्छ । यो पटक पनि बारीमा लगाएको कोदो पहेँलो भएर सुक्न थाल्यो, फल्ला र खाउला भन्ने आशै छैन”, स्थानीय पूर्णबहादुर प्रजाले भन्नुभयो । पुराकसिङवासीले खुम्रेकिरा नियन्त्रण गर्न धेरै प्रकारका विषादीहरु पनि प्रयोग गरिसकेका छन् । आफूले जानेका, अरूले भनेका, प्राविधिकहरुको सल्लाह लिएर पनि खुम्रेकिराको नियन्त्रण गर्ने प्रयास असफल बनिरहेको उनीहरुको भनाइ छ । जानेका, सुनेका र अरूले भनेका थुप्रै प्रकारका उपायहरु अपनाउँदा पनि खुम्रेकिरा नियन्त्रण गर्न नसकिएको प्रजाले बताउनुभयो ।

फियान नेपालको सहयोगमा पटक–पटक प्रतिनिधिमण्डल गएपछि खुम्रेकिरा नियन्त्रणका लागि गजुरी गाउँपालिकाले बजेट विनियोजन पनि गरेको छ । सिन्धुपाल्चोकमा बिजुली बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण भयो भन्ने सुनेका यहाँका किसान पनि गाउँमा बत्ती बलेपछि लाइटिङ प्रविधिबाट किरा नियन्त्रण हुने आशमा छन् । उहाँ भन्नुहुन्छ, “हाम्रो गाउँमा पनि बिजुली आउन लागेको छ । बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण हुन्छ कि भन्ने आश छ ।”

खुम्रेकिराले माटोमुनि दुई मिटरसम्म तल बसेर बालीनालीको जरा खाने भएकाले माटोको उपचार नै मुख्य उपचारका रुपमा मानिन्छ । खुम्रेकिराको आयु ३ वर्षको हुने भएकाले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्काे उपाय बिजुली बत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो । “मकै र कोदोलगायत बालीको जरा खाएर क्षति गर्ने खुम्रेकिरा माटोमुनि धेरै समय रहन्छ । विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन । अब विकल्प भनेको बिजुली बत्ती हो । गाउँमा बत्ती आउँदैछ, यसले खुम्रेकिराको नियन्त्रण गर्न सकिन्छ कि भन्ने आश छ”, उहाँले भन्नुभयो ।

खुम्रेकिरा (सेतो ग्रब्स) को वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो । यसले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरु खान्छ । जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र सुक्दै गएर मर्छ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउँछ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु-याउँछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij