• Friday 24th of July 2026

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल


  • आशाका किरण

काठमाडौँ, २५ असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज यहाँ आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उहाँले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताउनुभयो ।

“भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ”, मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक मलमा वृद्धि गर्नुपर्छ ।” बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उहाँले दाबी गर्नुभयो ।

“उन्नत बीउको प्रयोग गर्ने र सिँचाइको व्यवस्था गरेमा सन् २०३५ सम्ममा हामी खाद्यमा आत्मनिर्भर हुन सक्छौँ”, मन्त्री भुसालले भन्नुभयो, “पूर्व–पश्चिम नहर निर्माण गरेर मात्र कृषि क्रान्ति हुन्छ ।”

कार्यक्रममा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साना किसानलाई एकजुट गरेर उत्पादन गरेको कृषि सामग्रीलाई उद्योगमा रुपान्तरण गर्नुपर्छ ।” पौडेलले किसानलाई वित्तीय सहयोग गर्न कृषि विकास बैंकले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेम दङ्गालले किसानको सङ्ख्या बढेको तर जमिन घटेकाले कृषि उत्पादनमा कमी आएको भन्दै यसले कृषि क्षेत्रमा ठूलो चुनौती देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिमा क्रान्ति गर्नको लागि कृषि नीतिलाई सच्याउँनुपर्छ । खेतीमा गरिने खर्चको कमी गरेर उत्पानमा वृद्धि गर्न सके मात्रै किसानलाई फाइदा हुन्छ ।” उहाँले सरकारले किसान लक्षित कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले वर्षात्को पानी सङ्कलन गरी सिँचाइ गर्नुपर्ने बताउनुभयो । उहाँले छानाको पानी सङ्कलनदेखि रिचार्ज पोखरी निर्माणविधि अपनाएर पानीको संरक्षण गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij