• Friday 24th of July 2026

पुष्प व्यवसायमा युवाको आकर्षण


  • आशाका किरण

टीकापुर(कैलाली), २० कात्तिक : पुष्प व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि कैलालीमा पछिल्लो समय पुष्पखेतीमा युवाको आकर्षण बढ्दै गएको छ ।

कैलालीमा पहिलो पटक छ वर्षअघि टीकापुरको वनगाउँका सीताराम चौधरीले पुष्पखेती सुरु गर्नुभएको थियो । हाल पुष्पखेतीमा अन्य किसानसमेत आकर्षित हुँदै गएका छन् । पुष्प खेतीबाट अन्य खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि किसान आकर्षित हुन थालेको बताइन्छ ।

कैलालीको टीकापुरको वनगाउँका सीतारामले छ वर्ष पहिले १० कट्ठा जमिनमा खेती गर्नुभएको थियो । पुष्पखेतीमा राम्रो आम्दानी हुँदै गएपछि उहाँले एक बिघा पाँच कठ्ठामा पुष्पखेती गरिरहनुभएको छ । “मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु, अझै विस्तार गर्ने इच्छा थियो, जग्गा पाउन नसक्दा यत्तिकै सीमित भएको हो”, सीतारामले भन्नुभयो, “पुष्पखेतीमा वर्षभरि आम्दानी लिन सकिन्छ, अन्य बालीभन्दा तेब्बर बढी आम्दानी हुन्छ ।”

कैलालीमा पछिल्लो समय दर्जनौँ किसानले व्यावसायिकरुपमा खेती गरिरहनुभएको छ भने कतिपयले तिहार लक्षित पूmलमालाको मात्र उत्पादन गरिरहनुभएको छ । सीतारामले यहाँ मौसमअनुसार मात्र नभएर बमौसमी फूलसमेत रोप्नुभएको छ । उहाँले फूलका बेर्नादेखि फूलसमेत बिक्री गर्ने गर्नुहुन्छ । “मौसमी, बेमौसमी फूल पाइन्छन्, विभिन्न सजावटका फूल पनि मैले उत्पादन गरिरहेको छु”, उहाँ भन्नुहुन्छ, “यहाँ उत्पादन भएका फूल देशैभरिका जिल्लामा निर्यात भइरहेको छ ।”

यतिबेला पुष्पखेती गरेका कैलालीका किसान विभिन्न जिल्लामा फूल निर्यातका लागि फूलबारीमा व्यस्त छन् । पूmल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने कार्यमा किसान व्यस्त छन् । कैलालीमा उत्पादन भएका फूल देशका विभिन्न जिल्लामा जाने गरेका छन् । यो खेतीबाट एक बिघा जमिनमा दुई याममा रु १२ लाखसम्म कारोबार हुने गरेको सीतारामको भनाइ छ ।

“मैले एक बिघामा वर्षमा दुई पटक गरी रु १२ लाखको कारोबार गरेको छु । धानबाली तथा अन्य बाली लगाएर एक बिघामा रु १२ लाख कमाउन सकिँदैन”, उहाँ भन्नुहुन्छ, “मेहनत गर्नुपर्छ फूलखेतीमा राम्रो कमाइ छ, बजारीकरणका लागि सरकारको सहयोग पनि आवश्यक छ ।”

यतिबेला गाउँका धेरै किसानले धान भित्र्याएका छन् । सीतारामसहित पुष्पखेती गरेका किसान फूल बिक्री गर्ने तयारीमा छन् । उहाँहरु बजार खोज्ने, पूmल भण्डारण गर्ने, टिप्नेलगायतका कार्य गरिरहेका छन् । अर्का पुष्प व्यवसायी छत्र मल्लले पनि तीन वर्षदेखि फूल खेती गर्नुभएको छ । “मैले पनि फुर्सदको समय सदुपयोग र नयाँ व्यवसाय भएकाले पुष्प व्यवसाय रोजेको हुँ”, मल्लले भन्नुभयो, “स्थानीय बजार सानो भएकाले भने अलि समस्या भएको छ । गत वर्ष मैले तिहारको समयमा बजार पाउन कठिन भएको थियो ।”

पुष्प व्यवसायी मल्ल स्थानीय सरकारले पुष्पखेती गर्ने किसानलाई हौसला दिन बजारीकरणमा सघाउने, प्लाष्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाउने जस्ता कार्य गरेर सघाउनुपर्ने बताउनुहुन्छ । “तिहार नजिकिएको छ, बजारभरि प्लाष्टिकका माला छन्”, उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले भारतबाट निर्यात भएका प्लाष्टिकका माला बिक्री प्रतिबन्ध गरिदिए पछि हामीलाई राहत हुन्छ ।”

स्थानीय सुस्मा अधिकारी तिहार नजिकिँदै गएकाले महिला पूmलमालाको जोहो गर्न थालेका बेला तयारी माला बजारमा पाए राहत हुने बताउनुहुन्छ । “तिहारमा सबैभन्दा बढी फूलको कारोबार हुन्छ, तिहारमा दिदीबहिनीले दाजुभाइलाई फूल अभावमा फूलको मालाको साटो प्लास्टिकजन्य सामग्रीबाट बनेका माला लगाइदिएको देखिन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले प्लाष्टिकजन्य माला विस्थापित गरेमा राम्रै हुन्छ ।”

कैलालीमा कतिपय पालिकाले प्लाष्टिकका माला बिक्रीमा प्रतिबन्धसमेत गरेका छन् । नेपालीहरूको महान चाड तिहार, छठजस्ता चाडपर्वमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा प्लास्टिक मालामा प्रतिबन्ध लगाइएको छ । यी पालिकाले स्थानीय व्यवसायीको बारीमा फूलेका फूलका मालामात्र बिक्री गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij