एजेन्सी – विश्व फुटबलमा पछिल्लो समय निकै चर्चामा रहेका युवा फरवार्ड एर्लीङ हालान्ड अन्तत: जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने पक्का भएको छ ।
डर्टमुन्डले आइतबार आफ्नो सामाजिक संजालमा तस्बिर राख्दै नर्वेली फरवार्ड हालान्ड क्लबमा अनुबन्धित भएको जनाएको छ । उनले क्लबसँग सन् २०२४ सम्म सम्झौता गरेका छन् । यससँगै युरोपका अन्य ठूला क्लबहरुले उनलाई भित्र्याउन गरेको प्रयास असफल भएको छ । इटालियन च्याम्पियन युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर विन्डोमा हालान्डलाई प्राथमिकतामा राख्ने संकेत दिएका थिए ।
अस्ट्रियाको साल्जबर्गबाट खेल्दै आएका १९ वर्षीय फरवार्डका लागि डर्टमुन्डले उनको सम्झौतामा रहेको रिलिज क्लजको १८ मिलियन पाउण्ड तिरेको छ । उनले अब बोरुसियामा प्रति साता १ लाख ३० हजार पाउण्ड कमाउने छन् । बोरुसियामा रहेका अन्य सिनियर खेलाडीको तुलनामा पनि यो निकै महँगो रकम हो । उनको ट्रान्सफरसँगै एजेन्ट मिनो रायोलाले पनि मोटो रकम प्राप्त गरेको बुझिएको छ ।
हालान्डले यस सिजन २२ खेलमा २८ गोल गरिसकेका छन् । उनले च्याम्पियन्स लिगमा मात्र ८ गोल गरेका छन् । उनी च्याम्पियन्स लिगको सुरुवाती ५ खेलमा गोल गर्ने पहिलो टिनएज खेलाडी समेत बनेका छन् ।
