काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना आयोजना हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको लागि गत वर्ष नै होङ्गवान्जी बौद्ध समाजले एक वर्षको लागि मुख्य प्रायोजन गरिसकेको थियो । होङ्गवान्जी बौद्ध समाजले प्रतियोगिताको लागि १५ लाख उपलब्ध गराउनेछ । पहिलो संस्करण शिवम् सिमेन्टको मुख्य प्रायोजनमा तथा दोस्रो संस्करण होङ्गग्वान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा भएको थियो ।
प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने र यसबारे अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने न्यु डायमन्ड स्पोर्ट्स क्लबका उपाध्यक्ष एवंम् प्रतियोगिता संयोजक कुमार राईले जानकारी ।
तेस्रो संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको छ । जसअनुसर प्रतियोगिताको विजेताले नगद ४ लाख १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ३ लाख १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले ५१ हजार १ सय १ रुपैयासहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७–७ हजार १ सय रुपैयासहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको अनुमानित खर्च करिव २६ लाख रुपैया रहेको छ । पहिलो संस्करणमा आयोजक न्यु डायमन्ड तथा दोस्रो संस्करणमा विभागीय नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो ।
