पाल्पामा दलितको अवस्थामा खासै परिवर्तन नआएको सरोकारवालाले बताएका छन् । बेस नेपालका सञ्जु परियारले गाउँमा पुग्दा अझै पनि कतिपयको घरमा खाना खाए भाँडा बाहिरै घाममा सुकाएर मात्रै भित्र प्रयोगमा ल्याउने चलन कायमै रहेको बताउनुभयो । नेपालको संविधानमा नै दलित र गैरदलितबीचको विभेद गर्न नपाइने उल्लेख भए पनि गाउँमा दलितबीच पनि पानी बाराबारको स्थिति भएको दलित समन्वय समिति रामपुरका सल्लाहकार दिलबहादुर कौसीको भनाइ छ । “कुनै एउटा दलितले भोजमा खाना पकाए, अर्को दलितलाई त्यही खाना नचल्ने प्रवृत्ति गाउँमा छ, कसरी समान छ भनाँै”, कौसीले भन्नुभयो । पहिले पहिले दलित समुदायका नागरिकसँग छोइए मात्रै पनि सुनपानी छर्केर घरभित्र पस्ने र उनीहरुले खाना खाएका भाँडामा आगो पानी राख्ने र माझेर नसुकाउँदासम्म घरभित्र नलैजाने प्रवृत्ति केही कम भए पनि गाउँघरमा हुने विभेद भने अझै पनि रहेको समन्वय समिति रामपुरका सचिव सञ्जु परियारको बुझाइ छ । “अहिले पनि राजनीतिक र सामाजिक संरचनामा विभेद कायमै छ”, उहाँले भन्नुभयो ।
गाउँघरका मठमन्दिरमा पूजा गर्न, समाजका धेरै दलितका भोजमा गैरदलितका नागरिकले सहजै खाना खाने गरेको रामपुर नगरपालिका न्यायिक समितिका सदस्य पार्वती परियारले बताउनुभयो । उहाँले गाउँघरमा आफूले दलितको निम्ति गरिने विभेद कम भएको महसुस गरेको सुनाउनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले आफूले कार्यालयमा समेत दलित महिलाबाटै बनाएको चिया पिउने गरेको बताउनुभयो । समाजमा दलित र गैर दलितका बीचमा विभेद गरेको आफूलाई पटक्कै मन नपर्ने भन्दै नगरप्रमुख थापाले कुनै घरमा दलित र गैर दलितका छुट्टाछुट्टै भान्सा भए पनि आफूले दलितको भान्सामा खाना खाने गरेको बताउनुभयो । समाजमा महिला र पुरुष मात्रै दुई जात हुने भन्दै उहाँले कुनै मानिस दलित नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले कुनै समयमा कसैले दिएको खानैपर्छ भन्ने होइन, तर सफा छ, दलित र गैर दलीत जसले पकाएको खान पनि मलाई अप्ठ्यारो लाग्दैन नगरप्रमुख थापाले भन्नुभयो । पाल्पाको रामपुर नगरपालिकासँगै जिल्लाको यम्घा, भुवनपोखरी, ख्याहा, छहरा क्षेत्रमा दलित समुदायको बाक्लो बस्ती रहेको र ती क्षेत्रमा अझै पनि धारा पधेंरामा छुवाछूतप्रथा कायमै रहको दलित अभियन्ता कृष्ण दर्नालले बताउनुभयो । पाल्पामा करिब ३५ हजार जनसङ्ख्या दलितको छ ।
