राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा तथा पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानमा ‘सानालाई ऐन, ठूलालाई चयन’ हुने अवस्था आउन नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलिरहेको बताउँदै हालसम्म ७ वटा पोखरी र ६५ वटा घर खाली गराइएको जानकारी गराउनुभयो । उहाँले अभियानका क्रममा गरिब तथा विपन्न परिवारका बस्ती मात्र हटाइने र पहुँच तथा शक्तिमा रहेकाहरूले बनाएका संरचना भने नछोइने हो कि भन्ने त्रास स्थानीयमा रहेको बताउनुभयो । सांसद झाले २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित आयोगको प्रतिवेदन स्मरण गर्दै जनकपुरधाममा करिब ९५० बिघा सार्वजनिक जग्गा अपचलन तथा अतिक्रमण भएको दाबी गर्नुभयो । सांसद झाले सङ्घीय सरकार र प्रधानमन्त्रीले जनकपुरको सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने विषयमा देखाएको चासोप्रति आभार व्यक्त गर्दै झाले अभियान कुनै वर्ग विशेष माथि मात्र केन्द्रित हुन नहुनेमा ध्यानाकर्षण गराउनुभयो ।
सांसद झाले सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न सबैमाथि समान व्यवहार गर्न सरकारसँग आग्रह गर्नुभयो ।
