• Tuesday 8th of September 2026

एपिएफ र हेल्प नेपाल स्पोर्टस क्लबलाई पाँचौ आरबीबी पुरुष/महिला क्लब च्याम्पियनसिपको उपाधि


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । महिला तर्फ विभागीय टोली एपिएफ र पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लबले पाँचौ आरबीबी पुरुष÷महिला क्लब च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भड हलमा शुक्रबार भएको फाइनल खेलमा महिलाको एपिएफले होङ्वान्जी न्यु डायमन्ड स्पोर्टस क्लबलाई र हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय टोली एपिएफको चुनौति समाप्त गर्दै उपाधि जितेका हुन् । न्यू डायमन्डकी स्पाइकर प्रतिभा मालि तेस्रो सेटको खेल चलिरहँदा घाइते हुँदै कोर्ट बाहिर रहँदा एपिएफले ३–१ को सेटमा खेल जित्दै उपाधि लगातार दोस्रो पटक उचालेको हो । यससँगै एपिएफले उपाधि रक्षा गरेको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पहिलो सेट २५–२३ ले जितेको थियो ।

दोस्रो सेटमा पनि न्यु डायमण्डले अन्तिम समयमा लय गुमाउदा २५–२१ ले सुम्पियो । तेस्रो सेटमा स्कोर २२–२० को अवस्थामा रहँदा प्रतिभा माली स्पाइक प्रहार गरेपछि लड्न पुग्दा खेल रोकिएको थियो । गम्भीर चोट बोकेपछि प्रतिमालाई हस्पिटल लागिएको छ । उनको उपचार ब्लुक्रस हस्पिटमा भइरहेको छ । उक्त सेट न्यु डायमण्डले २५–२३ ले जित्दा चौथो सेट भने २५–१८ सुम्पिदा एपिएफ उपाधिको हकदार भएको हो ।जितसँगै एपिएफले नगद २ लाख रुपैयाँ हात पा¥यो । यस्तै उपविजेता न्यु डायमन्डले एक लाख रुपैयाँ प्राप्त ग¥यो । महिलातर्फ पनि त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २५–२२, २५–१३ र २५–२१ को सेटमा जित निकालेको थियो । तेस्रो भएको आर्मी ५० हजार रुपैयाँबाट पुरस्कृत भयो ।प्रतियोगिता अन्तर्गत शुक्रबारै सम्पन्न पुरुष तर्फको खेलमा तीन विदेशी खेलाडी भएको हेल्प नेपालसँग विभागीय टोली एपिएफ सोझो सेटमा निराश बन्यो । सेमिफाइनल आर्मीलाई हराउँदै फाइनल स्थान बनाएको एपिएफ उच्च मनोबलका साथ कोर्टमा उत्रिए पनि हेल्प नेपालसामु खुलेर खेल्न सकेन् ।

हेल्प नेपालले उपाधि जित्दा एपिएफ २५–१७, २५–१४ र २५–२० को सोझो सेटमा स्तब्ध बनेको हो । हेल्प नेपालले सबै सेटमा अग्रता बनाउँदै उपाधि उचाल्न सफल भएको हो ।पाँचौ संस्करणको पुरुष क्लब च्याम्पियनसिप सम्पन्न हुँदा हेल्प नेपालले दोस्रो पटक यसै प्रतियोगिताको उपाधि जितेको हो । यस अघि हेल्प नेपालले २०७३ को संस्करणमा उपाधि जितेको थियो ।सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकाल्दै उपाधि जितेको हेल्प नेपालले पनि उपाधिसँगै नगद २ लाख रुपैयाँ हात पा¥यो । उपविजेता बनेको एपिएफले १ लाख हात पार्दा तेस्रो भएको आर्मीले नगद ५० हजार हात पा¥यो । शुक्रबारै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पुलिसमाथि २५–१८, २५–१८ र २५–२० को सहज जित निकालेको थियो । प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ ७ टोलीले सहभागिता जनाएका थिए ।परुष तर्फ ११ र महिला तर्फ ७ टोलीले सहभागिता जनाएको प्रतियोगितामा न्यू डायमन्डकी प्रतिभा मालि र हेल्प नेपाल स्पोर्टस क्लबका अमित सर्बोेत्कृष्ट खेलाडी घोषित भए । यस्तै महिला तर्फ न्यू डायमन्डकी प्रतिभाले दोहोरो उपाधि जित्दा उत्कृष्ट सर्भर पनि घोषित भइन् । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू डामण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । त्यस्तै पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, हेल्प नेपालका विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपिएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधि सहित २५ हजार तथा विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij