• Tuesday 8th of September 2026

राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातियो…


  • आशाका किरण
Mandatory Credit: Photo by Shutterstock (10548376j) Speaker of the House Nancy Pelosi holds up a copy of President Donald Trump's speech after tearing it up after he spoke at the 2020 State of the Union Address on Capitol Hill. State of the Union address, Washington DC, USA - 04 Feb 2020

वासिङ्टन, २२ माघ (रासस-एपी) – अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिनु भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा “स्टेट अफ दी यूनियन” नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पार्नु भएको थियो । यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज अरु तीन चार टुक्रा पार्नुभएको टेलिभिजन फुटेजमा देखिएको छ । उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भन्नुभयो, “राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।” सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् । रिपब्लीकन पार्टीका सांसदहरुले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन् ।

“अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै हुनुहुन्छ,” राष्ट्रपति ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले बताउनुभयो । “पेलोसी र डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि गरेका राम्रा कामलाई पनि अस्वीकार गरेको यसैबाट पुष्टी हुन्छ ।” लुजियानाका रिपब्लीकन मतगणक स्टिभ स्कालिजले ट्वीट गर्दै आक्रोश पोख्नुभयो, “राष्ट्रपतिको भाषणले अमेरिकी नागरिकलाई समान व्यवहार गरेको थियो । तर पेलोसीले त्यसलाई च्यातचुत पार्ने निर्णय गर्नुभयो ।” केही महिना अघिमात्र अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले राष्ट्रपति ट्रम्पले कङ्ग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा विचाराधीन अवस्थामा छ । तर सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेकाले राष्ट्रपति विरुद्धको महाभियोग प्रस्ताव पारित नहुने पक्का भइसकेको छ, र रिपब्लीकन पार्टीले राष्ट्रपतिलाई पूर्ण समर्थन गर्ने जनाइसकेका छन् । महाभियोगको प्रस्तावका सन्दर्भमा बुधबार वा बिहीबार सिनेटमा मतदान हुँदैछ ।

महाभियोग पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्दछ । राष्ट्रपति ट्रम्पले संसदमार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो शासनकालमा व्यापक प्रगति गरेको, आर्थिक सुधार भएको, विदेश नीति सफल रहेको, आतंकवाद विरुद्धका कैयौं अभियानमा सफलता हासिल भएको, अमेरिकी सेनाको क्षमता बढेको, स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रगति भएको, अनधिकृत आप्रवासन घटेको लगायतका दाबी गर्नु भएको थियो । करिब ७८ मिनेटको सम्बोधन भाषणमा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी हुने विश्वासका साथ अमेरिकालाई थप प्रगतितर्फ अगाडि लैजाने दृढता व्यक्त गर्नु भएको थियो । राष्ट्रपतिको सम्भाषणका क्रममा अमेरिकी विशिष्ट व्यक्तिका साथै भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदो पनि दर्शक दिर्घामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकाले राष्ट्रपतिका रुपमा स्वीकार गरेको भन्दै “राष्ट्रपति” भन्दै सम्बोधन गर्नु भएको थियो । राष्ट्रपति ट्रम्पले विश्वभर नै समाजवादी आन्दोलनले गरिबी बढाएको र अर्थव्यवस्थालाई कमजोर बनाएको बताउँदै त्यस्तो व्यवस्था रुचाउनेहरु अमेरिकामा पनि पराजित हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पको सम्बोधनका क्रममा केही डेमोक्र्याट सांसद संसद भवनमा उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij