सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा जाउलाखेल युथ क्बललाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्बलले तेस्रो स्थान कायम गरेको छ । अन्तिम खेलमा जाउलाखेललाई १—० ले पराजित गर्दै मनाङले तेस्रो स्थान पक्का गरेको हो । मनाङको जितमा निशान लिम्बुले ५७ औं मिनेटमा निर्णायक गोल गरे । मनाङले लिगमा १३ खेलमा २८ अंक जोडेको छ । जाउलाखेलले १३ खेलमा १९ अंक जोड्दै छैटौँ स्थान बनाएको छ । यसअघि आजै भएको अर्को खेलमा थ्री स्टार क्बलले च्यासल युथ क्लबलाई २—० ले पराजित गरेको छ ।
थ्री स्टारको जितमा अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मवाले गोल गरे । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ । भने च्यासलले १३ खेलबाट १५ अंक जोडेको छ । शुक्रबार बिहान भएको खेलमा हिमालयन शेर्पाले न्यूरोड टीम एनआरटीलाई २—१ ले पराजित गरेको छ । एनआटीका लागि ३० औं मिनेटमा राजेश परियारले गोल गर्दै अग्रता बनाएपनि हार भने टार्न सकेन् । शेर्पाका लागि ४१ औं मिनेटमा स्टेफन समिरले गोल गर्दै बराबरी गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पार्ला जित दिलाए । १४ अंकसहित शेर्पा १० औं स्थानमा उक्लिएको छ । एनआरटी १५ अंकसहित ९ औं स्थानमा रह्यो । शनिबार त्रिभुवन आर्मी क्बल र मच्छिन्द्र क्लबले दशरथ रंगशालामा उपाधिका लागि भिड्ने छन् । दुबै टोली पहिलो पटक उपाधिको खोजिमा हुनेछन् । आर्मीलाई खेल बराबरी गरेमात्रै पुग्नेछ भने मच्छिन्द्रले उपाधि जित्नका लागि खेल जित्नैपर्ने छ ।
