• Tuesday 8th of September 2026

पोखरा रङ्गशाला चैतभित्र सम्पन्न हुने


  • आशाका किरण

आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ । भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डियाले नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँसँग संयुक्त लगानीमा रु एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण कार्यको जिम्मा लिएको हो । प्रारम्भिक सम्झौताअनुसार उक्त रङ्गशालामा १६ हजार पाँच सय दर्शक क्षमता भनिए पनि भविष्यमा हुन सक्ने दर्शकको चापलाई ध्यानमा राखेर अहिले २० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको रङ्गशालाका आयोजना प्रबन्धक इन्जिनीयर दीपक बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले चैतसम्म १६ हजार पाँच सय क्षमताको मात्र सम्पन्न गर्नेछौँ । बाँकी अर्को सम्झौताबाट काम अघि बढ्छ ।” गत वर्ष फागुन २४ गते शिलान्यास गरिएको उक्त रङ्गशाला २०७६ असार मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौतमा चार महिनाभित्र सम्पन्न गर्ने भनिए पनि रङ्गशालामा हुने विभिन्न खेल गतिविधिले गर्दा निर्माणकार्यलाई बाधा पु¥याएको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय मापदण्डानुसार निर्माण गरिएको पोखरा रङ्गशालामा आम दर्शक, भिआइपी, अपाङ्गता भएका दर्शक र मिडियाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१३ औँ साग प्रतियोगिताका लागि आवश्यक तयारीलाई मात्र जोड दिएर खेल सम्पन्न ग¥याँै, त्यसयता रङ्गशालाको काम धमाधम भइरहेको छ । अहिले करीब ९० प्रतिशत काम सकिएको छ ।” बरालले चैत महिनाभित्र रङ्गशालाको काम सम्पन्न गरिसक्ने जानकारी दिनुभयो । एक सय पाँच मिटर लम्बाइ र ६८ मिटरको चौडाइ रहेको फुटबल मैदानमा आठ र १० लेनको सिन्थेटिक ट्र्याक रहेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले चैतभित्र सम्पन्न गर्नलाई ताकेता गरिरहेको बताउनुभयो । उहाँले विभिन्न समयमा हुने मेघा इभेन्टले पनि यसको निर्माण कार्यमा अवरोध पुगेको बताउनुभयो । पोखरामा फागुन २२ देखि चैत १ गतेसम्म १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ हुँदैछ । उहाँले आहा गोल्डकपका लागि १३ हजार क्षमताको प्यारापिट निर्माण भइसक्ने जानकारी दिनुभयो । रङ्गशालाका लागि सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट झिकाइएको गुरुङको भनाइ छ ।

खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशव पाठकले रङ्गशालाको निर्माण कार्यलाई अब ढिला गर्न नहुने भन्दै चैतभित्र सक्नुपर्ने बताउनुभयो । उहाँले पछि थपिएको तीन हजार पाँच सय सिट क्षमताका लागि बोलपत्र आह्वान गरेर नवौँ राष्ट्रिय खेल अगावै सम्पन्न गर्नुुपर्ने बताउनुभयो । पोखरा रङ्गशालाबाट देखिने माछापुछ्रेको सुन्दर दृश्यावलोकनले पनि यसको सुन्दरता थपेको छ भने यसलाई आकर्षक बनाउन विभिन्न विज्ञको सल्लाह र सुझावलाई लिएर तयार गरिएको छ । फुटबल मैदानको छेउमा सिन्थेटिक ट्र्याक राखिएको छ । रङ्गशालामा खेलाडीको चेन्जिङ रुम, भिआइपी, मेडिकल, मिडिया सेन्टर, १७ वटा शौचालय लगायतको सुविधायुक्त संरचनाहरु रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij