• Saturday 25th of July 2026

अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा


  • आशाका किरण

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर धु्रवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो । तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आउनुभएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो ।

पाथीभरा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । पाथीभराबाट उडेको केही मिनेट नबित्दै दुर्घटना भएको थियो । दुर्घटनाबाट राष्ट्रले एक होनहार नेता गुमाएको एक वर्ष भए पनि आज ताप्लेजुङमा कुनै स्मृतिका कार्यक्रम आयोजना भएनन् । यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ । केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई रु ५० लाख र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई रु २० लाख पठाएको छ । उक्त रकमले यो वर्ष नै विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij