• Tuesday 8th of September 2026

इजरायली आमनिर्वाचनमा नेतन्याहूको दललाई अग्रता, बहुमत पुगेन


  • आशाका किरण

तेल अभिभ, २१ फागुन (रासस-एएनआई) – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ । केन्द्रीय निर्वाचन समितिले करिब ९७ प्रतिशत मतगणना सम्पन्न गर्दा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ । समितिका अनुसार नेतन्याहूका मुख्य विपक्षी बेन्नी गान्ज र उहाँको ब्लू एन्ड ह्वाइट पार्टीले ३२ स्थान जितेको छ । पछिल्लो गणना अनुसार लिकुड पार्टी र यसको गठबन्धनले कूल ५९ सिट जितेका छन्, तर सरकार गठन गर्न अझै दुई स्थान कमी भएको छ । इजरायलको संसद १२० सदस्यीय रहेको छ, र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ । प्रधानमन्त्री नेतन्याहूले मतदान सम्पन्न भएपछि सोमबार राति नै विजयी भएको दाबी गर्नु भएको थियो । चुनावी मतसर्वेक्षणले लिकुड पार्टीले बहुमत ल्याउन सक्ने अड्कलबाजी गरेका थिए । बहुमतका लागि दुई स्थान कमी भएको अवस्थामा लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेको छ ।

लिकुड पार्टीका प्रवक्ता जोनाटन उरिचले संचार माध्यमसँग कुरा गर्दै विपक्षी बेन्नी गान्जले सरकार गठन गर्न नसक्ने परिस्थिति रहेकाले आफूहरुलाई समर्थन गर्न अन्य दलका सांसदहरु समक्ष आग्रह सहित छलफल गरिरहेको बताउनुभयो । उहाँले अन्य दलका चारदेखि छ जना सांसदसँग कुराकानी भइरहेको छ भन्नुभयो । लिकुड पार्टीले केही दिनभित्रै सरकार गठन गर्न दाबी प्रस्तुत गर्ने उहाँले बताउनुभयो । तर, इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले आफ्नो दलले अझै हार स्वीकार नगरेको बताउनुभएको छ । मंगलबार बिहान चुनावको अन्तिम परिणाम नआउन्जेल धैर्य गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गर्ने बताउनुभयो । इजरायलमा कुनै पनि दलले संसदमा बहुमत ल्याउन नसक्दा एकै वर्षको अवधिमा यसपटक तेस्रो आमनिर्वाचन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij